ग्लोबल आईएमई बैंक र आईसीआईसीआई बैंक क्यानडाबीच समझदारी

ग्लोबल आईएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानडाबीच विभिन्न बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी भएको छ ।​

​यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी, स्थायीरूपमा क्यानडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरूले आईसीआईसीआई बैंक क्यानडाको विभिन्न बैंकिङ सेवा उपभोग गर्न तथा क्यानडाबाट नेपालमा रेमिट्यान्स पठाउन/प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४७ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।​​​

आईसीआईसीआई बैंक क्यानडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।​

आईसीआईसीआई बैंकले क्यानडा बैंकिङ्ग ऐनअन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारोबार गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार