कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाले वैदेशिक रोजगार ठगी गरेको आरोप

काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ ।

बन्धक बनाइएकी भनिएकी महिलाले वैदेशिक रोजगारी ठगी गरेको पाइएको छ । पीडित भनिएकी महिला र अर्की युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का एक युवक फरार रहेका छन् । एसएसपी सानुराम भट्टराईका अनुसार यसअघि वैदेशिक रोजगार विभाग र प्रहरी कार्यालय जाँदा पनि पैसा फिर्ता नपाएपछि उनीहरूले आफ्नो पैसा फिर्ता माग्न महिलालाई बन्धक बनाएका थिए ।

एसएसपी भट्टराईले भने, ‘उनीहरूको वैदेशिक रोजगारसम्बन्धी लेनदेन रहेछ । २०/२२ लाख रुपैयाँ लिएर ठगी गरेको र वैदेशिक रोजगारीमा नपठाएको भन्ने रहेछ । विदेश जान खोज्ने युवाहरूले पैसा दिएपछि विदेश पनि नपठाएको र पैसा फिर्ता पनि नगरेको विषय रहेछ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर के भएको रहेछ भन्ने वास्तविक कुरा थप आउने पनि उनले बताए । तर ती महिलाले फोनमा प्रहरीलाई भने जस्तो अपहरण नै गरेको भने नपाइएको प्रहरीको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार