ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजार स्थित पूर्व-पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-१० का २७ वर्षीय सुशिल विकको मृत्यु भएको हो । बिहीबार साँझ सुप प्र ०१-०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुप प्र ०१-००२ त ६१८७ नम्बरको ट्याक्टर एकआपसमा ठोकिएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक विक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि निसर्ग अस्पताल, धनगढीमा लगिएकोमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक लम्कीचुहा नगरपालिका –४ का ३७ वर्षीय राताराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार