सरकारले थाल्यो सरकारी कार्यालयमा सरसफाइ अभियान (फोटोफिचर)

सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसँगै सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

केही जिल्लामा डेङ्गीको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो । सरकारले डेङ्गी नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ ।

सरकारको निर्णयसंगै ‘लामखुट्टे खोजी र नष्ट’ अभियान अन्तर्गत सिंहदरबारमा समेत सरसफाइ गरिएको नायवसुव्वा रामकुमार लम्सालले जानकारी दिए। डेङ्गी फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्रता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी०को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।

ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार