फेरि सुरू भयो ‘नो हर्न’ अभियान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’ अभियान सुरू गरेको छ ।

अनावश्यक रूपमा हर्न बजाउने बढेको भन्दै कार्यालयले पुन: अभियान थालेको हो । पछिल्लो केही दिन यता काठमाडौंका चोक-चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी खटिएका छन् ।

काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । सुरुवाती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि फेरि हर्नको प्रयोग बढ्न थालेको भन्दै ट्राफिक प्रहरी सक्रिय भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ । कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकहरुले लापरवाही गर्दै आएको प्रहरीको भनाइ छ । ‘ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ’, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ ।

गत आर्थिक वर्ष ०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यस वर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कात्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार