राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बुटवल पुगेको छ । शुक्रबार सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले बुटवलमा पुगेर अनुसन्धान सुरु गरेको हो ।
गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका हुन् । पूरक जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
बिहीबार जिल्ला अदालत रुपन्देहीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । अदालतले छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। बिहीबार पक्राउ पूर्जी जारी भएका अनन्त फरार रहेका जीवी राईका दाजु हुन भने सुरक्षा रास्वपाकी सहमहामन्त्री विपीन आचार्यकी श्रीमती हुन् ।
सुर्यदर्शन सहकारी ठगीको आरोपमा गत साताबाट कास्की प्रहरीको हिरासतमा रहेका रविलाई केही दिनमा बयानका लागि बुटवल पनि लैजाने प्रहरीको तयारी छ । यसअघि सोही सहकारी ठगीमा पक्राउ परेका रविका पूर्व व्यापारिक साझेदार तथा प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई बुटवल लगिएको थियो । छविलाई बुटवल पुर्याएर बयान लिइएको हुँदा रविलाई पनि बुटवल लैजाने निश्चित रहेको स्रोतको भनाइ छ ।
रवि र छविलाई सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ । अरु आरोपित भने बैंकिङ कारोबारमा हस्ताक्षर गर्नेहरू हुन् । रवि र छविविरुद्ध यस्तै कसुरमा चितवनको सहारा, वीरगन्जको साना पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान अगाडि बढाउने तयारी छ ।
यी सहकारीबाट पनि गोर्खा मिडियामा रकम लगेर अपलचन गरेको पाइएको छ । बुटवलको सुप्रिममा १० हजार ३ सय ९१ सदस्यको १ अर्ब ७ करोड बचत रकममध्ये ७८ करोड गोर्खा मिडियामा अपचलन गरेको आरोप छ ।