हिरासतमा रहेका रविलाई डेंगी लाग्नसक्ने भन्दै तोसिमाको चिन्ता

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले डेंगी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको आरोप लगाएकी छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई छुटाउन पोखरा पुगेर काठमाडौं फर्किएकी उनले कास्कीमा अत्याधिक डेंगी संक्रमणको केस देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

कास्कीको ७ हजार ५ सय केसमध्ये ६ हजार ४ सय पोखरा महानगरमै रहेको उल्लेख गर्दै उनले प्रश्न गरेकी छिन्, ‘कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ?’ गृहमन्त्रीलाई सम्बोधन गर्दै उनले लामखुट्टे भगाउने धुप र लिक्विडसमेत थुनामा बसेका कैदीहरूलाई नदिएको भन्दै आपत्ति जनाएकी छन् ।

‘एउटा लामखुट्टे भगाउने धुप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ । यथासिघ्र देशभरीका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धुप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्,’ उनले भनेकी छन् ।

पार्टी सभापति रवि लामिछाने पनि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा लगेर हिरासतमा राखिएको थियो ।

त्यसयता रवि पक्राउ परेको विरोधमा आयोजित सभालाई सम्बोधन गर्न सांसद कार्की पनि पोखरामै थिइन् । उनले थुनुवा कक्षको जानकारी लिएसँगै सामाजिक सञ्जालमार्फत सरकारलाई भनेकी छिन्, ‘थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार