डोल्पामा एक सरकारीसहित चार मोटरसाइकलमा आगजनी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरमा पार्किङ गरी राखेका चार मोटरसाइकलमा आगजनी गरिएको छ । बिहीबार मध्यरातको समयमा बस्नेत फ्रेस हाउसको पछाडि पार्किङ गरी राखेका चारवटा मोटरसाइकलमा आगजनी भएको हो ।

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका पर्ने फोक्सुण्डो ताल घुम्न आएका जुम्लाका चार जनाको मोटरसाइकल अज्ञात समूहबाट आगजनी भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

आगजनी गरिएका चार मध्ये दुई मोटरसाइकल पूर्ण रूपमा क्षति भएका र दुई वटा आगोको रापले आंशिक क्षति भएका जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । कर्णाली प्रदेश स्थानीय पूर्वाधार विकास मन्त्रालय सुर्खेतको ०१००१ प २३१७ र ०२०० २ प ०३९२ प्लेट नम्बरका मोटरसाइकल पूर्ण रूपले क्षति भएका छन् ।

घटनाका विषयमा अनुसन्धान गर्न इन्सपेक्टरसहितको प्रहरी टोली घटनास्थलमा पुगेको डिएसपी केसीले बताए । आगजनी भएको एउटा मोटरसाइकल भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेशको रहेको प्रहरीले जनाएको छ ।

फ्रेस हाउस सञ्चालक ललितबहादुर बस्नेतले आफू मस्त निद्रामा परेको समयमा मोटरसाइकलमा लागेको आगोको धुवाँ कोठामा पसेपछि मात्र प्राङ्गणमा राखिएका मोटरसाइकलमा आगजनी भएको थाहा भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार