निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा

निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षका लागि खर्च पाउने सीमा तोकको हो ।

आयोगको निर्णयअनुसार महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि ७ लाख, उपमहानगरपालिकाको प्रमुख वा उपप्रमखुका लागि ५ लाख र नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि चार लाख ५० हजारको सीमा तोकेको हो ।

त्यस्तै, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको लागि तीन लाख ५० हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदको निर्वाचनको लागि ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको आयोगले जनाएको छ ।

त्यस्तै, आयोगले महानगरपालिकामा वडा अध्यक्षका लागि तीन लाख, उपमहानगरपालिकाको वडा अध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडा अध्यक्षका लागि दुई लाख र गाउँपालिकाका वडा अध्यक्षले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण गरिएको हो ।

उम्मेदवारले मनोनयन पत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म खर्च गर्न पाउने गरी यसरी खर्चको हद तोकेको हो ।

मंसिर १६ गते जिल्ला समन्वय समितिको २ प्रमुख, गाउँपालिकाका २ अध्यक्ष, १ नगरपालिका प्रमुख, ४ गाउँपालिका उपाध्यक्ष, १ नगरपालिका उपप्रमुख, ९ गाउँपालिका वडाध्यक्ष र २१ नगरपालिका वडाध्यक्ष गरी ४० पदमा निर्वाचन हुन लागेको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचन हुँदैछ ।

जाजरकोटको नगलगाड नगरपालिकाको उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन हुन लागेको हो ।

त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा पनि निर्वाचन हुन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार