आवश्यकता परे सशक्त आन्दोलनका लागि माओवादी तयार छ: अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले सरकारविरूद्ध खबरदारी गर्न अझै सशक्त आन्दोलनको तयारीमा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले अहिलेको आन्दोलन सुरूवात मात्रै भएको र यसले पनि सरकार नसच्चिए थप सशक्त ढंगले आन्दोलन गर्ने र त्यसका लागि माओवादी केन्द्र तयार रहेको बताएका हुन्।

उनले यो सरकार दलाल पुँजीपति र विचौलियाहरूले बनाइदिएको पुष्टी भएको पनि दाबी गरे। सरकारको सय दिनको अवधिमा सरकारले के गर्‍यो भनेर हेर्दा त्यो प्रमाणीत हुने बताए।

‘भ्रष्टाचारी र विचौलीहरूलाई संरक्षण गरिएको छ। अब विकल्प छैन। विचारको नेतृत्व माओवादी केन्द्रले गर्छ,’ उनले भने।

असोजमा बाढी आउँछ भनेर अगाडि नै पूर्वानुमान गरिएको र त्यसको चेतावनी दिएपनि सरकारले बेवास्ता गरेको सापकोटाले भने।

‘युग परिवर्तनको नेतृत्व गरेको पार्टी जनताको यो बिपत्ती टुलुटुल हेरेर बस्न सक्दैन। असोजमा बाढी आउँछ भनेर पूर्वसूचना दिएको थियो। त्यसलाई बेवास्ता गरियो।अध्यक्षले सर्वदलीय बैठक बोलाउनुभयो। पछि सरकारले पनि बोलाएपछि हामी सरकारले बोलाएको बैठकमा सहभागी भयौं,’ उनले भने।

उनले वर्तमान सरकारले लोकतन्त्रको कुरा गर्नु हास्यास्पद रहेको पनि बताए।

‘प्रतिनिधि सभा विघटन गरेर पटकपटक संविधानमाथि झम्टिने र आज अध्यादेश ल्याएर पार्टीलाई कमजोर बनाएर लोकतन्त्र हुन्छ?,’ उनले भने, ‘ यिनिहरूले भन्दा हामीले बुझेका लोकतन्त्र।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार