दुई दिनको वर्षाले पुष्पखेतीमा नोक्सान, यसवर्ष सयपत्री फूलको मूल्य बढ्ने

असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण पुष्पखेतीमा पनि क्षति पुगेको छ । वर्षाले करिब १५ करोडको फूल नोक्सान गरेपछि यस तिहारमा सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।  

फुल्न थालिसकेको फूल नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।   

गत वर्ष एउटा मालालाई ६५ देखि ७० रुपैयाँसम्म परेको थियो । यस वर्ष ८० देखि ८५ रुपैयाँसम्म होलसेल मूल्य पर्ने उनले बताए । अध्यक्ष बादेका अनुसार बजार गत वर्षको तुलनामा यस वर्ष सात लाखभन्दा बढी सयपत्री फूल मालाको  माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ । 

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।  

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने भारतबाट ल्याउनुपर्ने बाध्यता छ । 

नेपालमा २००७ सालदेखि शुरू भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।  

व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार