‘अग्निदहन’ फिल्मको गीत ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक

बोक्सी अन्धविश्वासविरुद्धको कथावस्तुमा निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना छ ।

धर्मेन्द्र पौडेलले नृत्य निर्देशन गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरलाकुमारी पाण्डे, प्रसिना आचार्य फिचर्ड छन् ।

विवाहको सेटअपमा तयार परिएको ‘दाइ दाइ नभन’ रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीतमा आधारित छ । साहित्यकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक यो फिल्म मंसिर ७ गते रिलिज हुँदैछ ।

यस फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।

घनश्याम लामिछानेले फिल्म निर्देशन गरेका हुन् । ‘फिल्ममा थ्रिलर, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं’ निर्देशक लामिछानेले भने ।

परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको उनले बताए ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षसमेत रहेका उपाध्यायले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए ।

प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ । चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको यो फिल्मलाई पूर्वराष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् ।

केही समयअघि यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार