नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिनको बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण गर्न रोक लगाएको छ ।

आइतबार दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको हो ।

“कात्तिक १४ गते बुधबार साँझ ६:३० बजेबाट दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ,” एन्फाले सोमबार एक सूचनामार्फत भनेको छ ।

एन्फाले टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सोधपुछ भइरहेको जनाएको छ ।

“हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,” एन्फाले भनेको छ ।

एन्फाको आयोजनामा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिन सञ्चालन भइरहेको छ । कात्तिक १ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक १४ गते सकिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार