काठमाडौं महानगरले तोक्यो फूल बेच्न ४६ ठाउँ

काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका छन् ।

मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको पनि जानकारी दिएका छन् । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाएको थियो ।

यस वर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ’, मेयर शाहले भनेका छन् ।

गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन् ।

यस वर्ष मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा बिक्रीको प्रबन्ध गरिएको मेयर शाहले बताएका छन् ।

सम्बन्धित समाचार