देश किन डुब्यो भन्ने हेर्न वैद्यखाना आउनुस्, सरकारले नसके हामी चलाउँछौं: बालेन

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई दिन आग्रह गरेका छन् ।

बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै शाहले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए । बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने शाहको भनाइ छ ।

देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने उनको भनाइ छ । सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको शाहले बताए । ‘अहिले देश किन र कसरी डुब्यो, समस्या के हो भन्ने हेर्न मन भए सिंहदरबार वैद्यखाना हेरे पुग्छ’, मेयर शाहले भने, ‘९० प्रतिशत सरकारी उद्योग कि त भाडामा दिइन्छ, भाडामा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ ।’

सरकारद्वारा सञ्चालित उद्योग कलकारखाना घाटामा जानुका कारण उल्लेख गर्दै उनले वैद्यखानालाई धराशयी पर्न नदिन सामूहिक पहलको आवश्यकतामा जोड दिए । ‘आयुर्वेदिक उपचार पद्धति हाम्रो संस्कार र संस्कृति हो, जसरी हामीले सनातन धर्मलाई मान्छौँ त्यसरी नै मान्दै आएको विषय हो,’ उनले भने ।

नगरप्रमुख साहले आफू वैद्यखाना परिसरमा हुर्केको आफ्नो बाल्यकालको स्मरण गर्दै यस संस्थाको व्यवस्थित सञ्चालन र विकासका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए ।

‘पहिले यही ठाउँमा धेरै स्थान खाली थियो, औषधि उत्पादन धेरै हुन्थ्यो, अहिले जताततै भवन छन्, औषधि उत्पादन चाहिँ कम छ’, उनले भने, ‘२०५८/५९ सालमा यहाँको बजेट रु पाँच करोड थियो, अहिले एक करोड छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार