सुरक्षण मुद्रण केन्द्रमार्फत राजस्व स्ट्रिकर छपाइमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो ।
अर्यालले बैठक बसाल्ने क्रममा सामान्य त्रुटि गरे पनि सिंगो सरकारी सम्पत्ति दुरुपयोगमा तथ्य पुष्टि हुन नसकेको बुधबारको फैसलामा उल्लेख छ ।
यो मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई भने विशेष अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई सजाय निर्धारण भने २५ मंसिरमा हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा दायर भएपछि तत्कालिन मुख्यसचिव अर्याल निलम्बनमा परेका थिए र सरकारले उनको दरबन्दी राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरेको थियो ।
अन्तशुल्क स्टिकर छपाईमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असार, २०८१ मा मुख्यसचिव डा। बैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।