साफ सकिए लगत्तै फ्रान्स लागिन् साम्बा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) व्यावसायिक लिगका लागि फ्रान्सतर्फ लागेकी छन् । फ्रान्सको व्यवसायिक क्लब एन अभान्टा गुएङ्ग्याम्पमा लिग खेलिरहेकी साम्बा बिहीबार बिहान त्यसतर्फ लागेकी हुन् ।

घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणका लागि स्वदेश आएकी साम्बा व्यावसायिक लिगका लागि पुन: फ्रान्स फर्केकी हुन् ।

साम्बालाई बिदाइ गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतिनिधि बिहीबार बिहान त्रिभुवन विमानस्थल पुगेका थिए । घरेलु मैदानमा बुधबार सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौँपटक उपविजेता बनेको छ ।

भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलमा बराबरी गोल फर्काउँदै साम्बाले सनसनी मच्चाएकी थिइन् । साम्बाले च्याम्पियनसिपको समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन् ।

माल्दिभ्सविरुद्धको खेलमा भने साम्बा बेन्चमा रहिन्।

सम्बन्धित समाचार