काठमाडौं– सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
बुधबार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । सहकारी ठगीसम्बन्धमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर स्थलमार्ग हुँदै कास्की लगेको थियो । उनी कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
उनको बयान सकिएको पुष्टि सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले गरेका छन् । उनका अनुसार तिहारपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने छ ।
उनलाई २० गते अदालत उपस्थित गराएर म्याद थप गरिने तिवारीले जानकारी दिए । उनले भने, ‘बुधबार बेलुका नै बयान सकिएको हो । अब आवश्यक प्रमाण र कागजात, भिडियो झिकाउने काम हुन्छ । अनुसन्धानबाट तानिएका अरू व्यक्तिलाई पनि खोज्ने काम हुँदैछ।’