यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताएका छन् ।
दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मीपूजाको राति माता लक्ष्मीले धर्तीको भ्रमण गर्छिन् भन्ने धार्मिक मान्यता छ । जसका कारण लक्ष्मीपूजाको राति मानिसहरूले आफ्नो घरको मुख्य ढोका खुल्लै राख्नुपर्छ भन्ने मान्यता छ । ताकि माता लक्ष्मी उनीहरुको घरमा प्रवेश गरेर सधैंका लागि उनीहरुकै घरमा विराजमान हुन् ।
पूजाका साथै लक्ष्मीपूजाको राति दियो बाल्नु पनि शुभ मानिन्छ ।
कहाँ-कहाँ बाल्ने बत्ती ?
सामान्यतया घरको सबैतिर उज्यालो हुनेगरी बत्ती बाल्ने चलन छ । तर सामान्यतया निम्न ठाउँमा पूजा बत्ती बाल्ने चलन छ ।
पीपलको मुनि
लक्ष्मीपूजाको राति गणेश-लक्ष्मीको पूजा गर्नुभन्दा पहिला पीपलको रुखको मुनि एउटा दियो बाल्नुपर्छ । दियो बालेपछि तपाईंले पछाडि फर्केर हेर्नुहुँदैन । लक्ष्मीपूजाको राति यसो गरेमा जीवनमा धनसँग सम्बन्धित समस्याहरुलाई सामना गर्नै पर्दैन भन्ने धार्मिक विश्वास छ ।
कुनै सुनसान स्थानमा
यदि तपाईंको घरको नजिक कुनै सुनसान स्थान छ भने लक्ष्मीपूजाको राति उक्त स्थानमा दियो बाल्नुपर्छ । त्यसो गर्नाले तपाईंको घरको सुख-शान्ति र रौनक सधैं बनिरहन्छ भन्ने धार्मिक विश्वास छ ।
घरको पूजा कोठामा
आफ्नो घरको पूजा कोठा अर्थात् मन्दिरमा पनि दियो बाल्नुपर्छ । उक्त दियो लक्ष्मीपूजाको रातभरि निभ्नु हुँदैन भन्ने मान्यता छ ।
चौबाटोमा
घर नजिकै चौबाटोमा पनि लक्ष्मीपूजाको राति दियो बालिदिनुपर्छ । यसो गर्नाले जीवनमा पैसासँग सम्बन्धित समस्याहरु हल हुन्छन् भन्ने जनविश्वास छ । चौबाटोमा चार मुख भएको दियो बाल्नुपर्छ । यसो गर्नाले तपाईंले चारैतिरबाट राम्रा खबरहरू सुन्न पाउने धार्मिक विश्वास छ ।
बेलको रुखमुनि
लक्ष्मीपूजाको साँझ बेलको रुखमुनि दियो बाल्नाले भगवान् शिवको कृपा तपाईंमाथि पर्नेछ भनिन्छ । महादेवको कृपाले तपाईंको जीवनका सबै समस्या चाँडै समाधान हुने विश्वास गरिन्छ ।
घरको मुख्य ढोकामा
लक्ष्मीपूजाको दिन घरको मुख्य ढोकाको दुवैतर्फ दियो बाल्नुपर्छ । यसो गर्नाले घरमा प्रवेश गर्ने नकारात्मक ऊर्जाको प्रभाव कम हुने धार्मिक विश्वास छ ।
घर नजिकैको मन्दिरमा
घरको नजिकै कुनै मन्दिर छ भने त्यहाँ पनि लक्ष्मीपूजाको राति दियो बालेर आउनुपर्छ । यसो गर्नाले तपाईंले एकै साथ धेरै देवी-देवताहरूको आशीर्वाद पाइने धार्मिक विश्वास छ ।
घरको आँगन
आफ्नो घरको आँगनमा पनि दियो बाल्नुपर्छ । यदि घरको आँगनमा तुलसीको मठ छ भने त्यसको नजिकै दियो बाल्नुपर्छ । उक्त दियो पनि रातभरि बल्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।