बंगलादेशमा डेंगीका कारण शनिबार एकै दिन यो वर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि संक्रमितको संख्या ३१० पुगेको बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीबाट संक्रमित भएका थिए ।
डेंगी ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउनेजस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।
यस भाइरसबाट यो वर्ष संक्रमित हुनेको संख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
यस वर्ष डेंगीका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बंगलादेशमा सन् २०२३ मा डेंगीका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो ।
सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेंगीका कारण मृत्यु भएको थियो ।
डेंगीको बढ्दो संख्यासँग जुध्न बंगलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।