पोखराको मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । उनलाई अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकाररशेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।
मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् । यो सहकारी ठगीमा ३१ करोड बिगोसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
लम्सालसहित पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध गतवर्ष मंसिरमै पक्राउ पुर्जी जारी भएको थियो । सहकारीका सञ्चालक र अन्य मिलेर करिब २९ करोड रकम हिनामिना गरेको आरोप छ । अदालतमा २१ करोड बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।