डेंगुको प्रकोप विगतका वर्षभन्दा कम भए पनि जोखिम घटेको छैन । जनवरी महिनायता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ ।
४०औँ हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा बिरामी थोरै छन् । अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए ।
उनले हुम्लाबाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेको बताए । डेंगुबाट यो वर्षको जनवरीयता १२ जनाको मृत्यु भएको छ । अक्टोबरमा ९ हजार ६६६ जना बिरामी फेला परेको उनले बताए ।
उनले यो वर्ष मन्त्रालयको ४०औँ हप्ताको रिपोर्टले यस्तो देखाएको बताए । सन् २०२४ को जनवरीबाट शुरु गरेर ४०औँ हप्तासम्म आउँदा डेंगुका बिरामी २८ हजार २१२ जना पुगेको उनले बताए ।
आधा बिरामी गण्डकीमा
देशभरका डेंगुका बिरामीको संख्यामध्ये आधा बिरामी गण्डकी प्रदेशमा रहेका छन् । त्यसपछि बागमती, कोशी र अरू प्रदेशमा देखिएको छ ।
जिल्लाको हिसाबमा सबैभन्दा धेरै कास्कीमा त्यसपछि काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर र चितवनमा डेंगुका बिरामी देखिएका छन् ।
शहरमा डेंगुको जोखिम धेरै
शहरीकरण भएका क्षेत्रमा डेंगुका बिरामी बढी देखिएका छन् ।
मानिसले बेवास्ता गर्दा पानी जमेको ठाउँबाट लामखुट्टे बढेर डेंगु फैलिरहेको छ । १२ महिनाको तुलना गर्दा कुनै पनि महिना पोहरको भन्दा बढी भएको छैन तर त्यसो भनेर ढुक्क हुने अवस्था नरहेको उनले बताए ।
उनले यसका लागि सावधानी अपनाउनुपर्ने बताए । यही मौसममा सबैभन्दा बढी सावधानी अपनाउनुपर्ने उनले बताए। उनका अनुसार पानी परेकाले अझै केही दिन डेंगु फैलिनसक्ने सम्भावना छ ।
स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि उपचार र व्यवस्थापन सम्बन्धमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालबाट उपचार गरिरहेको छ । डेंगु हुन नदिन गर्नुपर्ने एउटै मात्र काम- लामखुट्टे खोज र नष्ट गर अभियान चलाउनुपर्ने उनले बताए ।
स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरू, प्रदेश र संघअन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट यो सन्देश दिइरहेको उनको भनाइ थियो ।