यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्सको अजमानस्थित द सेभेन रंगशालामा भएको खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।

टस हारेर सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ११ दशमलव ४ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएसँगै नेपालले जित निकालेको हो । थाईल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि रचना कुमारी चौधरीले ४, रिया शर्मा र पुजा महतोले दुई/दुई तथा कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले एक/एक विकेट लिए ।

थाइल्याण्डका लागि एक जना ब्याटर बाहेकले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ४ जनाले खातै खोल्न सकेनन् । त्यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको थियो । नेपालका लागि पुजा महतोले एक छक्का र ३ चौका सहित सर्वाधिक ३५ तथा सोनी पाख्रीन र सिमा केसीले समान १९ रन जोडे ।

एसिया छनोटमा नेपालसहित आयोजक यूएई, कुवेत र थाइल्याण्ड छन् । चार टोलीमध्ये प्रत्येकले छ खेल डबल–लिग ढाँचामा खेल्नेछन् । प्रत्येक टीमले एक अर्कोसँग दुई–दुई खेल खेल्ने छन् । नेपालले आफ्नो दोस्रो खेलमा भोलि कुवेतको सामना गर्नेछ । यस्तै, नेपालले असोज २४ गते यूएई, असोज २५ मा थाइल्याण्ड, २७ गते कुवेत र अन्तिम खेल २८ गते यूएईसँग खेल्ने तालिका छ ।

सम्बन्धित समाचार