चितवनमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बिहीबार दिउँसो चितवनको भरतपुर महानगरपालिका-२४ लक्ष्मणचोकमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोक निवासी ३७ वर्षीया रामकुमारी गुरुङको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता रिजालले बताए ।
बागमती प्रदेश ०१–०२४ च ४९९३ नम्बरको बोलेरोसँग बागमती प्रदेश ०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००१ प ८८८२ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा स्कुटर चालक सोही स्थानका ३१ वर्षका सोजन शेरचन गम्भीर घाइते भएका छन् भने मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-२४ का ३१ वर्षका हरिशरण थापामगरको अवस्था पनि गम्भीर रहेको प्रवक्ता रिजालले जानकारी दिए ।
उनका अनुसार घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।