नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सरदार पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य हुन् । उनी आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा ग्रामथानमा अध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ । कांग्रेस मोरङ संसदीय समितिको बिहीबार बसेको बैठकले अध्यक्षमा सरदारलाई अघि सार्ने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।
टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो । अध्यक्षका १३ जना आकांक्षीमध्ये सरदारलाई टिकट दिने निर्णय समितिको बैठकमा भएको माझीले बताए ।
नेकपा (माओवादी केन्द्र)ले ग्रामथानको अध्यक्षमा पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । नेकपा (एमाले)ले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो ।