नेपाल क्रिकेट संघ (क्यान)ले आफैँ आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ ।
नेपाल प्रीमियर लिगको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुसार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ ।
ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने बताए । उनले भने, “नेपाली क्रिकेट फ्यानहरू सधैँ खेलको प्रसारण गुणस्तरलाई लिएर चिन्तित हुनुहुन्छ । हामी नेपाली क्रिकेटलाई माया गर्ने समर्थकहरूको खेल हेर्दाको अनुभवलाई राम्रो बनाउने विषयप्रति एकदमै सचेत छौँ ।”
एनपीएललाई विश्वस्तरीय लिग बनाउने लक्ष्यमा खेलको राम्रो क्वालिटीको उत्पादन र प्रसारण महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।
“यही कारण हामी विश्वस्तरीय उत्पादन र प्रसारण सम्बन्धी अनुभवी कम्पनीहरूसँग छलफलमा थियौँ । स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं,” उनले भने ।
स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपीएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुर्याउनेछ ।