जहाज टिकट बिक्रीमा टीबीए प्रणाली खारेज, भाडादर नियन्त्रण गर्न पाँच बुँदे सहमति

हवाई भाडा नियन्त्रणका लागि नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच पाँच बुँदे सहमति भएको छ ।

दैनिक १० घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढ्न थालेपछि शनिबार नागरिक उड्यन प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठक बसेको थियो ।

बैठकबाट एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए)खारेज गर्ने निर्णय भएको छ । अब सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको पालना गर्नुपर्नेछ ।

यससँगै सहमतिको अर्को बूँदामा सबै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाई सेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्नुपर्ने बताइएको छ ।

साथै, सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त बमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने पनि सहमतिमा उल्लेख छ ।

सहमतिअनुसार ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ ।

तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने र वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने सहमतिमा उल्लेख छ ।

सम्बन्धित समाचार