यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।
कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो । २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलाई नेपालले ४८ रनमै रनमा अलआउट गर्यो ।
पूजाले खेलमा शतक र पाँच विकेट लिँदै इतिहास रचिन् । उनी नेपालका लागि एकै खेलमा पाँच विकेट लिने र शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बन्न सफल भइन् ।
युएईको अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजाले शतक प्रहार गर्दै इतिहास बनाइन् । उनी नेपालको महिला यू-१९ टोलीका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याटर बनिन् ।
पूजाले खेलमा नटआउट १३० रन जोडिन् । उनले ६९ बल खेल्दा १७ चौका प्रहार गरेकी थिइन् । सोनी पाख्रिनले नटआउट ४३ रन जोडेर पूजालाई राम्रो साथ दिइन् । सोनीले ३३ बलमा २ चौका प्रहार गरिन् ।
कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए ।
कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले दुई/दुई विकेट लिए ।
कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।