दीपक मनाङे डिल्लीबजार कारागार चलान

ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागार चलान गर्न निर्देशन दिएको हो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका छन् । त्यो अवधि घटाएर बाँकी समय उनी जेल बस्नुपर्ने हुन्छ । मनाङे अब पाँच वर्षमा २ वर्ष ८ महिना घटाउँदा आउने दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सानो भर्‍याङको कम्फर्ट हाउजिङस्थित आफन्त कहाँ बसेको अवस्थामा पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन् ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चबाट पनि दोषी ठहर भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

सर्वोच्चको आदेशपछि मनाङे सम्पर्कबिहीन भएका थिए । फैसला भएसँगै मनाङले आफ्नो मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए ।

प्रहरीको विभिन्न निकायले उनको खोजी गरिरहेको थियो । केहीदिन अघि मात्रै मनाङेले विज्ञप्ति जारी गरी आफू अदालतको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए । त्यसैबीच प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार