सहकारी ठगी, संगठित अपराध कसुरमा अनुसन्धानका लागि पोखराबाट भैरहवा लगिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सुरु भएको छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा दिउँसो एक बजेदेखि सुरु गरिएको बयान साँझ भएपछि बुधबार बिहानदेखि पुनः बयान सुरु गर्ने गरि स्थगित गरिएको थियो । मंगलबार मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
मंगलबार साँझ बयान स्थगित पश्चात् बाहिरने क्रममा लामिछानेले समर्थक र संचारकर्मीलाई देखेर ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधबार थप सतर्कता अपनाउँदै प्रहरी घेराभित्र सरकारी वकिल कार्यालयमा पुर्याएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहितका न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूको उपस्थितिमा दोस्रो दिनको बयान सुरु गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याएको थियो । मंगलबार लामिछानेसँग ५ घण्टा बयान लिएर बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै सबै विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहीले फसाइएको बयान दिएको एक प्रहरी अधिकारीले बताए ।