सत्ता सहकार्यलाई प्रभावकारी बनाउन सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय संयन्त्र निर्माण गरिएको छ ।
दुई दलीय संयन्त्रमा एमालेका तर्फबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् । कांग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री एवं पार्टीका प्रदेश संसदीय दलका नेता उद्धव थापा र भौतिक पूर्वाधार विकासमन्त्री तथा पार्टीका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई रहेका छन् ।
दुई दलीय संयन्त्रले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी निर्णय र सुशासन प्रदान गर्न जिल्लामा जिल्ला स्तरीय संयन्त्र गठन गर्ने जनाएको छ ।
एमाले र नेपाली कांग्रेसबीच संविधान संशोधन र आर्थिक सुधारको मुख्य एजेण्डा सहित केन्द्र र प्रदेशमा सरकार गठन भएपछि सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन दुई दलिय संयन्त्र गठन गर्ने निर्र्णय भएसँगै कोशीमा पनि ६ सदस्यीय दुई दलीय संयन्त्र गठन गरिएको हो ।
कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझाव दिएर प्रदेशको आवश्यकता र औचित्यता पुष्टि गर्ने तथा अराजकता र भ्रष्टाचार अन्त्य गर्न संयन्त्रले काम गर्ने बताए । उनले कोशी प्रदेश संयन्त्रको पहिलो बैठकले मंसिर २९ गते विराटनगरमा जिल्ला संयन्त्रका सदस्यहरुको बैठक गर्ने निर्र्णय गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कोशीका सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापाले प्रदेश तथा प्रदेश भित्र रहेका स्थानीय सरकारहरुलाई प्रभावकारी र जवाफदेही बनाउदै गठबन्धनलाई मजबुत बनाउने गरी अघि बढ्ने बताए ।
त्यस्तै कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले संयन्त्रको सल्लाह सुझाव अनुसार प्रदेशको औचित्यता पुष्टि गर्ने गरी प्रदेश सरकारले आफ्नो काम कारवाहीलाई अघि बढाउने बताए ।