कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने एक पुरूषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ ।
गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
प्राइम टाइम टेलिभिजनमा अर्यालले अन्तर्वार्ता दिँदै आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए । नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए ।
प्राइम टाइम टेलिभिजनका सञ्चालक क्रषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।
तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । उनीमाथि सीआईबीले मंगलबार नै सोधपुछ गरेको ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । तर, घटनाको विवरण नै उनले गलत बताउने गरेका छन् । अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ ।
सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेपछि कागज गराएर छाडेको थियो । उनलाई बुधबार पनि उपस्थित हुने सर्तमा सिआइबीले छाडेको थियो । तर बुधबार उनी सम्पर्कबिहीन भएका छन् । उनले मोबाइल घरमै छाडेर हिँडेको एसपी बोगटीले बताए ।
‘उहाँको भनाइसँग वास्तविकता मिलेको छैन । हिजो दिनभरमा ३/४ घण्टा सोधपुछ गरेर छाडेका थियौं,’ एसपी बोगटीले भने, ‘घटनाबारे बोलिएका कुराहरू काल्पनिक देखिन्छन् । तथ्यगत कुराहरू केही छैन ।’
निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।