डेडिकेटेड तथा ट्रंक लाइनमा उद्योगीहरूले बक्यौता तिर्नुको साटो राजनीतिकरण गरे – कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता तिर्नुको साटो राजनीतिकरण गरेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले हरेक पटक बक्यौता तिर्नुपर्ने बेलामा राजनीतिकरण गरेको बताए । उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको जिकिर छ । ‘बेरोजगारी बढायो । नेपालको अर्थतन्त्र तहसनहस बनायो भनेर इमोस्नल ब्ल्याकमेलिङ गरियो, अनि सरकारलाई निर्देशन दिन बाध्य बनाइयो,’ उनले भने ।

मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको उनले बताए । प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ ।

‘यसअघि पनि ३ लाइन काट्दै जोड्दै भइरहेको छ । अब १५ दिनमा बक्यौता नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ’, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार