डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका महत्त्वपूर्ण पदहरूमा वफादारहरूलाई नियुक्तिको घोषणा गरेका छन् । खासगरी राष्ट्रिय सुरक्षासँग सम्बन्धित पदहरूमा उनले गर्ने नियुक्तिलाई ध्यानपूर्वक हेरिएको छ ।
ट्रम्पले फक्स न्युजका प्रस्तोता पिट हेगसेथलाई रक्षामन्त्री बनाउने घोषणा गरेका छन् ।
अमेरिकाको रक्षा मन्त्रालय मुलुककै सबैभन्दा ठूलो रोजगारदाता हो । यसअन्तर्गत करिब ३० लाख सैनिक तथा गैरसैनिक कर्मचारी काम गर्छन् । यस्तो मन्त्रालय चलाउन नियुक्तिको घोषणा गरिएका ४४ वर्षीय हेगसेथसँग सरकारमा बसेको अनुभव छैन ।
यद्यपि, उनीसँग सैन्य अनुभव भने छ। उनी नेसनल गार्डका पूर्वअधिकृत हुन् ।
पहिलो कार्यकालमा रक्षामन्त्रीहरूसँग ट्रम्पको सम्बन्ध राम्रो हुन सकेन । चार वर्षमा उनले पाँच रक्षामन्त्री फेरेका थिए ।