कर्णाली याक्समा भारतका ओपनर शिखर धवन

काठमाडौं । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।

सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने ।

कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार