म्याद सकिएका सामान बेच्‍ने कस्मेटिक गोदाममा प्रहरीको छापा

नयाँ मिति राख्दै बेच्दै, दुई जना पक्राउ

म्याद सकिएको कस्मेटिक सामग्रीमा नयाँ मिति राखेर बिक्री–वितरण गर्दै आएको एक गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले स्वयम्भूस्थित सानो भर्‍याङको एक घरमा छापा मारेको हो । सो क्रममा प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् ।

प्रहरीका अनुसार भाटभटेनी, बिग मार्टलगायतका स्थापित चेन सुपर मार्केटमा उनीहरूले नयाँ लेबल र मिति टाँसेर उक्त सामग्री बिक्री–वितरण गर्दै आएका थिए । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले विशेष सूचनाका आधारमा कारखानामा छापा मारिएको बताए ।

उनले भने, ‘म्याद सकिएको कस्मेटिक सामग्री बिक्री–वितरण हुँदै आएको छ भन्ने सूचना आयो । खोज्दै जाँदा सानो भर्‍याङमा त्यस्ता सामग्रीलाई नयाँ लेबलिङ गर्ने गोदाम नै रहेको खुल्यो । हामीले सोही गोदाममा  छापा  मारेका हौँ । घटनाको थप अनुसन्धान हुन बाँकी छ ।’ टोलीले गोदामलाई सील गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार