नेपालबाट पहिलोपटक तेस्रो देश बिजुली निर्यात गरिएको छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो ।
नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ । यो याममा आज (एक दिन) मात्र बिजुली निर्यात हुनेछ ।
प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।