संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् ।
मन्त्री पाण्डेले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएको दाबीसहित हदैसम्मको कारबाहीको माग गर्दै अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । पाण्डेको तर्फबाट सचिवालय सदस्यले उजुरी दर्ता गराएका छन् ।
“नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ,” पाण्डेले उजुरीमा भनेका छन्, “लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुने छ ।”
सांसद बजगाईंले टाइगरटप्सलाई क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेका थिए । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले सबै पोस्टहरू हटाएका थिए ।
पाण्डेले उजुरीमा मन्त्रीको शपथ ग्रहण भएको मितिदेखि नै शृंखलाबद्धरूपमा मन्त्रालयको कामकारबाही र आफ्नो व्यक्तिगत चरित्रको मानमर्दन गरेको पनि उल्लेख गरेका छन् ।
“घुस/रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातीमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैरकानूनी कार्य गरी आउनुभएको छ,” पाण्डेले भनेका छन्, “यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ ।”
आफू व्यक्तिगत र राजनीतिक जीवन दुवैलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलितरूपमा अगाडि बढाइरहेको दाबी गर्दै पाण्डेले कांग्रेस र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटो पछ्याउँदै राजनीतिमा समर्पित भएको उल्लेख गरेका छन् ।
“मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ संकल्पित छु । माननीय बजगाईंका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उल्लंघन गरेको छ,” उजुरीमा भनिएको छ ।