नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।
मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो ।
राजीनामा स्वीकृत हुन भने बाँकी रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले बताए । मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए । ३८ करोड घोटाला भएको भनिएको उक्त प्रकरणका ११ अभियुक्तमध्ये अर्याल नै सबैभन्दा उपल्ला अधिकारी थिए ।