वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-७ बस्ने २१ वर्षीय सुरज पौडेल, चितवनको कालिका नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१२ बस्ने २१ वर्षीय रचना परियार र डोटीको बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् ।

प्रहरीका अनुसार सुरजले सामाजिक सञ्जाल फेसबुकमा सुवेदी अभिषेक नाम लेखेर दुबईमा वैदेशिक रोजगारका लागि अवसर छ, भिजिट भिसामा दुबईमा आई काम गर्न मिल्छ विज्ञापन पोष्ट गरी पीडितसँग म्यासेन्जर र ह्वाटसपमा कुराकानी गरेर २ लाख १५ हजार ठगेका थिए ।

रचना र प्रकाशले पनि बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेको प्रहरीले जनाएको छ । पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ ।

पक्राउ परेका पौडेललाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, परियार र मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एपसी काजीकुमार आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार