अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीमा पहिरोमा परेका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका छन् ।
गत असोज ११ गते देशभर आएको अविरल वर्षाका कारण पहिरो जाँदा मकवानपुरस्थित सिस्नेरी एकेडेमीका ६ खेलाडीको ज्यान गएको थियो । घटनामा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो ।
एकेडेमीमा थुप्रै लापरबाही भएको र त्यही लापरबाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको पीडितका आफन्तले बताएका छन् । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तीमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुदमन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाएका पीडित अभिभावकहरूले झन्डै दुई महिनाको समय खर्चिए ।
यसअघि अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । बारम्बार न्यायको माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले एन्फा मुख्यालयमा ताला लगाएका हुन् । ताला लगाउने क्रममा सातदोबाटोको माहोल केही तनावपूर्ण बनेको थियो । अभिभावक एन्फा मुख्यालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका छन् ।