विभिन्न सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीको बयान जारी छ ।
पोखरास्थित प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौं ल्याएर बयान लिइएको हो । सरकारी वकिलको कार्यालयमा जोशीको बयान जारी रहेको प्रहरीले जनाएको छ । जोशी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान गरिएको थियो । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो ।
जोशीको पनि बयान सकेर पोखरा फिर्ता गराउने तयारी प्रहरीको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बयानका लागि काठमाडौं ल्याउने तयारी छ । पूर्व गृहमन्त्री लामिछाने कात्तिक २ गते काठमाडौंबाटै पक्राउ परेका थिए ।