काठमाडौं उपत्यकामा बिहीबार तीनजना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एकजना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरपालिका–१६, माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटेलमा आज मृत अवस्थामा फेला परेका छन् ।
आजै काठमाडौं–१६, माछापोखरी मितेरी पुलनजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मृत भेटिएका प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।
त्यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
तीनवटै शवलाई परीक्षणका लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।