काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हुन् ।
आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ । यद्यपि इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको छ ।
यसअघि आईसीसीका प्रमुख अभियोजक करिम खानले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमण र त्यसपछिको गाजा भएको प्रत्याक्रमणमा युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा नेतन्याहुविरुद्ध पक्राउ पुर्जी खोजेका थिए।
युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यस्तै, मानवताविरुद्धको अपराधको आरोपमा लिबियाका नेता मोअम्मर गद्दाफीले पनि आईसीसीको पक्राउ पुर्जीको सामना गरेका थिए। उनी सन् २०११ मा मारिएका थिए।
खानका अनुसार सिनवार, हनियाह र अल–मसरीविरुद्ध हत्या, बन्धक बनाएको, बलात्कार र बन्धकमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। नेतन्याहु र गैलान्टविरुद्ध हत्या, युद्धमार्फत भोकमरी निम्त्याएको, मानवीय राहत आपूर्तिमा अवरोध सिर्जना र जानाजान आमनागरिक लक्षित आक्रमण गरेको आरोप छ ।