सरकारले सार्वभौम क्रेडिट रेटिङमा नेपालले प्राप्त गरेको सफलताले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको जनाएको छ ।
नेपालले सार्वभौम क्रेडिट रेटिङमा बिबि माइनस स्कोर प्राप्त गर्न सफल भएपछि शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना भएको र लगानीका लागि अनुकुल स्थान भएको सन्देश गएको बताएका हुन् ।
सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने गरेको उनले बताए । उनले नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको र यसले सकारात्मक सन्देश दिएको धारणा राखे ।
सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत भएको भन्दै पौडेलले यसले अर्थतन्त्रको भावि दिशा र संभावनाको आंकलन गर्दै भविश्यमा आफ्नो ऋण दायित्व पुर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्ने उल्ल्ेख गरे ।
नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीको लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुने उनको विश्वास छ । उनले भावि दिनमा नेपालको पुर्वाधार, पर्यटन, कृषि, सेवा लगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको जानकारी दिएका छन् ।