आजदेखि प्रदर्शनमा चलचित्र तेल भिसा र अग्निदहन

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको चलिचत्र ‘पूर्णबहादुरको सारंगी’को दबदबाकाबिच आज शुक्रबारदेखि सिनेमा घरहरुमा चलचित्र ‘तेल भिसा’ र ‘अग्रिदहन’ प्रदर्शनमा आएका छन् ।

कलाकार विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ले हलबाट राम्रो शो पाएको छ । यद्यपि, बलियो वर्ड अफ माउथ पब्लिसिटीले फिल्मको व्यापार निर्धारण गर्नेछ ।

ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई यस चलचित्रमा समेटेको छ । चलचित्रले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ। चलचित्रमा दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन् ।

विपिन र वर्षासहित फिल्ममा पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ ।

अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मलाई नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको चलचित्रको कथा शंकर घिमिरेले नै लेखेका हुन् ।

तर, बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’ ले भने मल्टिप्लेक्स हलहरुमा न्यून शो पाएको छ । बुधबार गरिएको प्रिमियर शोमा यस फिल्मलाई रुचाइएको थियो ।

घनश्याम लामिछाने निर्देशित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

कोविदशरण उपाध्यायको परिकल्पना रहेको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद रहेको छ ।

नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत हेरिसकेका छन् ।

सम्बन्धित समाचार