एमाले तेह्रथुममा ओली पक्ष पराजित, १० बुँदे पक्षधर ढुंगाना विजयी

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन् । तेह्रथुमको १२ औं जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै एमालेको १० बुँदे पक्षका ढुंगाना निर्वाचित भएका हुन् ।

४ मंसिरबाट सुरु अधिवेशनमा नेतृत्वका लागि बिहीबार भएको मतदानमा ढुंगाना २३६ मतसहित विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए । १० बुँदे पक्षबाट अध्यक्ष निर्वाचित भएका ढुंगाना पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन् ।

उपाध्यक्ष सन्तोष तिगेला सर्वसम्मत भए । उनी पनि १० बुँदे समूहकै हुन् । सचिव तारा मादेन २२८ मतसहित निर्वाचित भए । उनी अध्यक्ष ओली पक्षका हुन् । उनका प्रत्यासी छत्रप्रसाद रिमालले २०२ मत ल्याए ।

पुरूष उपसचिवमा १० बुँदे समूहकै यादव खापुङ २२० मतसहित निर्वाचित भए । प्रत्यासी अर्जुन ढुंगानाले २०८ मत ल्याए । महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित भइन् । उनी अध्यक्ष ओली पक्षकी हुन् ।

अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्दा उनका पक्षका नेताहरू १० बुँदे सहमति गरी एमालेमा बसेका थिए । एमालेमा बसेको नेताहरूको समूहलाई १० बुँदे पक्षधर भनेर सम्बोधन गरिँदै आएको छ ।

सम्बन्धित समाचार