प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् ।
नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए ।
उनले भने, ‘अहिले ऋण लिने र ऋण थुपार्ने मनस्थिति छैन । त्यो अवस्थापनि छैन । तर, उत्पादन बढाउनुपरेको छ । निराश हुने कुरा होईन, आशावादी हुनुपर्छ । आफ्नो ठाउँ बनाउनुपर्छ । आशा जगाउनुपर्छ । अस्तिसम्म केही नभएको देशहरु प्रगतिमा गए । नेपालको सानो जिल्लाजत्रै रहेको सिंगापुर विकसित छ । हामी पनि आशावादी हुनुपर्छ ।’
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने घोषणा गरेका छन् । उनले आफ्नो चीन भ्रमण सफल हुनेपनि दाबी गरेका छन् । चीन जानुअघि बीआरआईमा हस्ताक्षर गर्न नहुने मत राखेको कांग्रेसकै लाईनमा प्रधानमन्त्री ओलीले पनि आज ऋण लिने अवस्था नभएको स्पष्ट पारे ।