जागरण सभामा एमालेले भन्यो- केपी ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाइयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएको बताएका छन् । काठमाडौंको दरबारमार्गमा आयोजित जागरण सभामा बोल्दै महासचिव पोखरेलले केही व्यक्तिहरूले स्यालहुइँया मच्चाउने काम गरिरहेको बताए ।

‘हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाउने काम भइरहेको छ। अध्यक्ष कमरेडले रोस्टमबाटै लगानी प्रमाणित गर्नुस् । त्यसको डबल दिन्छु भनिसक्नुभएको छ,’ उनले भने, ‘एउटा देशको टेलिकममा कसको लगानी छ भनेर अपारदर्शी हुनसक्छरु नेपाली समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले जे कुरालाई पनि षड्यन्त्रको ढाँचाबाट प्रस्तुत गर्छन् ।’

उनले पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराई कम्बोडिया गएको विषयलाई पनि भ्रमित पार्न खोजेको महासचिव पोखरेलको भनाइ छ । उनले भने, ‘आज आइक्यापको अधिवेशन छ । अधिवेशनमा राजनीतिक दलका नेताहरू सहभागी छन् । हाम्रो नेता पनि त्यहाँ सहभागी छन् । अनि त्यसैलाई लिएर हाम्रो पार्टीको बदनाम गरिरहेको छ ।’

पोखरेल पछि बोलेका ओलीले कम्बोडियाको टेलिकममा क–कसको लगानी छ भन्ने सहजै थाहा पाउन सकिने बताए । उनले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भएको आरोप लगाएका छन् ।

“कम्बोडिया भन्ने देश त्यहीँ छ, चारघण्टाभित्र फ्लाइटमा पुगिन्छ । त्यहाँको लगानीमा क–कसको लगानी भन्ने थाहा पाउन नसकिने अनौठो कुरा हो र ? थाहा पाउन सकिने कुरा हो । यस्ता कुरालई भ्रमपूर्ण फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भइरहेका छन्,” ओलीले भने ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै भ्रम फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परिसकेका छन् ।

ओलीले आफूमाथि लगाएको आरोप चर्चा गर्न लायक नभएको पनि बताए । आफू बदमासी गरेर अरूको टाउकोमा खन्याएको आरोप उनको छ ।

सम्बन्धित समाचार