एआईजीद्वय गुरुङ र ढकालले पाए दर्ज्यानी चिन्ह

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ मंसिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकालले दर्ज्यानी चिन्ह पाएका छन् ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दुवै अधिकृतलाई राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेसागत दक्षता एवं कार्यकुशलता र इमानदारिताको मूल्यांकनको आधारमा पदोन्नति भएको जानकारी दिए ।

त्यस क्रममा महानिरीक्षक कुँवरले प्राप्त गरेको पद र जिम्मेवारीअनुरूप प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण र संगठनको बृहत्तर हितका लागि आवश्यक नीति निर्माण तथा दीर्घकालीन महत्त्वका रणनीतिक योजना निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ(आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिए ।

नागरिकको सुरक्षा एवम् भरोसालाई कायम राख्दै समाजमा कानुनी शासनको प्रत्याभूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा, इमानदारिता एवम् लगनशिलताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृत जवानहरूको उपस्थिति थियो ।

मन्त्रिपरिषद्को बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकले गुरूङ र ढकाललाई बढुवा गरेको थियो ।

सम्बन्धित समाचार